
काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

करिब एक घण्टा चलेको भेटमा नेपाल-भारत सम्बन्धलाई विकास-कूटनीतिक नयाँ चरणतर्फ अघि बढाउने विषयमा गहिरो छलफल भएको बताइएको छ ।
भेटवार्ता फलदायी र महत्वपूर्ण भएको र दुवै पक्षले पुराना अवरोधहरूलाई पार गर्दै सहकार्यलाई नयाँ ढाँचामा अघि बढाउन सकिनेमा सहमति जनाएको लामिछानेले बताउनुभएको छ ।
भेटका क्रममा साझा सांस्कृतिक सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सीमा-पार पूर्वाधार जस्ता विषयमा केन्द्रित भएर आपसी विश्वासमा आधारित साझेदारी विस्तार गर्न सकिने सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई उद्धृत गर्दै नेपाल र भारतबीच विकास-कूटनीतिक नयाँ युग सुरु गर्नुपर्ने दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई देशका जनताका लागि साझा समृद्धि हासिल गर्न यी सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने चाहना व्यक्त गरेको पनि बताउनुभएको छ ।




खबर बजार । २० जेष्ठ २०८३, बुधबार १७:००