सम्पत्ति शुद्धीकरणको कुसुरमा विष्णु पौडेललाई दोषी देखाउनुपर्ने आधार भेटिएन, अदालतको आदेशपछि रिहा

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतको आदेशपछि रिहा हुनुभएको छ ।

अदालतले उहाँलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उहाँ थुनामुक्त हुनुभएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उहाँ करिब २५ दिन हिरासतमा बसेपछि अदालतको आदेशअनुसार रिहा हुनुभएको हो ।

विशेष अदालतले प्रारम्भिक रूपमा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै उहाँलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै थप सजायको समेत माग गरिएको थियोे ।

अदालतले उल्लेख गरेको चार आधार: 

(१) मुख्य प्रतिवादी दीपक भट्टले अनुसन्धान वा अदालतमा कतै पनि विष्णु पौडेलको नाम पोल नगरेको ।

(२) सुपारी आयातबाट प्राप्त भनिएको लाभमा पौडेलको कुनै संलग्नता वा हिस्सा रहेको प्रमाण पेश हुन सकेन ।

(३) सम्बन्धित शेयर हस्तान्तरण हुँदा विष्णु पौडेल अर्थमन्त्रीको पदमै नभएको ।

(४) हालसम्म प्राप्त प्रमाणबाट वित्तीय कारोबार वा सम्पत्ति शुद्धीकरण कसुरसँग उहाँको सम्बन्ध स्थापित हुन सकेन ।