
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो ।
मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गर्नुभयो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन् । त्यस्तै नेपाली काङ्ग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मतदान प्रक्रियामा तटस्थ बसेको छ ।
प्रदेशसभामा भएको यस मतदानसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने बाटो खुलेको छ ।




खबर बजार । १ भाद्र २०८३, सोमबार २२:१२