
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक आज देखि शुरू हुँदैछ । पुनर्गठनको विवाद भइरहेका बेला आजदेखि तीन दिनको समय तय गरि बैठक आह्वान भएको हो ।

केन्द्रीय कमिटीको बैठकअघि केन्द्रीय सचिवालयको बैठकले एजेन्डा तय गरेको छ । पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि पुनर्गठनको विषय सचिवालय र केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ ।
केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ ।
फागुन २१ को निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको छ । यो बहसलाई विगतमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै तीव्र पारेका थिए ।

पार्टीको सचिवालयस्तरकै नेताले बहस थालेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन भएको थियो ।
कार्यदलले सातै प्रदेशमा पुगेर नेताकार्यकर्ताको धारणा सुनेर आएको थियो । त्यसपछि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने समीक्षा गरिएको छ ।
अध्यक्ष ओलीको निर्देशनअनुसार कार्यदल संयोजक बादललाई अर्को प्रतिवेदन तयार पारिँदा त्यसमा ओलीले नेतृत्व छाड्न नहुने समीक्षा गरिएको छ ।
दुवै प्रतिवेदनलाई समायोजन गर्दा कार्यदलमा भएको प्रयासमा सहमति जुटेको थिएन । सहमति नजुटे पनि ओलीले नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्न निर्देशन दिनुभएको थियोे । त्यो प्रतिवेदन तयार भइसकेको छ ।




खबर बजार । ५ आश्विन २०८३, सोमबार ०६:०९