एमाले कर्णालीको प्रशिक्षण शुरु (भिडियो सहित)

‘एमालेको विजयलाई कसैले रोक्न सक्दैन’– बादल

सुर्खेत । आसन्न निर्वाचनलाई केन्द्रीत गरी नेकपा (एमाले)ले सुर्खेतमा आज शनिवारदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।

जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा दुई दिन सम्म चल्ने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गर्नुभएको हो ।

उहाँ नै कार्यक्रमको प्रमुख प्रशिक्षक समेत रहनुभएको छ भने प्रशिक्षकको रुपमा पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुहुने छ ।

बादलले नेकपा एमालेलाई विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टी रहेको बताउनुभयो ।

जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेकोसमेत उहाँले बताउनुभएको छ । एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै बादलले बिदेशी शक्तिको इसारामा अरु दलहरुले गठबन्धन गरिरहेको बताउनुभयो ।

देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुबिकृत भएको उहाँको भनाई छ । उहाँले एमालेले हटाएका १४ साँसद्को सुचना टाँस गरिएमात्र एमालेले एमसिसिलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिने बताउनुभयो ।

जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको बादलले बताउनुभयो ।

अबका निर्वाचनबाट दुई तिहाई मतको साथ एमालेलाई बिजयी गराउन सकेमात्र समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकांक्षा र समाजवादको आधार तयार गर्ने दिशामा देश जाने उहाँको दावी छ ।

केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउदो निर्वाचनलाई लक्षित गरि आयोजित प्रशिक्षणमा करिब २१५ जनाभन्दा बढीको सहभागिता रहने एमालेले जनाएको छ ।

कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, स्थानीय तह तथा जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख–उपप्रमुख र स्थानीय तहकमिटीका अध्यक्षहरुको सहभागिता छ ।

हेर्नुहोस् भिडियोः