f कांग्रेस महाधिवेशन  : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेस महाधिवेशन  : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं । काठमाडौंमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो । एक जना सभापति, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री, एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।

सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी परेको छ । सभापतिमा गगनकुमार थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठाैर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ । उहाँहरु निर्विरोध हुनुभएको छ ।

प्रथम नामावलीमा प्रक्रियाअनुसार कुनै दाबी विरोध रहे आजै बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि समय तोकिएको छ । दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।