एमाले दैलेखको निर्वाचन कहिले ?

दैलेख । नेकपा (एमाले) दैलेखको जिल्ला अधिवेशनअन्तर्गत पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएसँगै अब नयाँ प्रक्रिया सुरु हुने भएको छ ।

अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएकोमा सो निर्वाचन प्रक्रिया नै खारेज भएको हो ।

यसअघिको निर्वाचन मण्डलले गरेका सबै निर्णय खारेज भएका र जिल्ला कमिटिको बैठकले निर्वाचनको मिति तय गर्ने एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताउनुभयो ।

फाइल तस्बिर

निर्वाचनको नयाँ प्रक्रिया र मितिबारे निर्णय गर्न मंगलबार जिल्ला कमिटी बैठक बस्दैछ ।

एमाले दैलेखका अनुसार यसअघि सर्वसम्मत निर्वाचित भएकाहरुसमेत फेरि नयाँ प्रक्रियाद्वारा सर्वसम्मत हुनुपर्ने देखिएको छ ।

जिल्ला अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिस्पर्धा भएको थियो । तर मतदान पश्चात मतदाता भन्दा बढी मत भेटिएपछि अधिवेशन स्थगित भएको हो ।