एमाले दैलेखको झमेला: अध्यक्ष मण्डल / निर्वाचन समिति नैतिक प्रश्नको घेरामा

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशनबाट नेतृत्व छनोट प्रक्रियामा त्रुटि गर्दा अध्यक्ष मण्डल झमेलामा फसेको छ ।

मतदान गरेका जम्मा मतदाताभन्दा ३१ वटा बढी मतपत्र मतपेटिकाभित्र फेला परेपछि अध्यक्ष मण्डल नैतिक प्रश्नको घेरामा परेको हो ।

सहमतिय प्रक्रियाबाट नेतृत्व टुङ्ग्याउन नसकी अधिवेशन शुरू भएको पाँचौँ दिनमा मतदान प्रक्रिया अपनाएर आलोचित बनेको अध्यक्ष मण्डलले अर्को झमेलाको सामना गर्नु परेको छ ।

जम्मा ७ सय २१ मतदातामध्ये ७ सय १७ जना मतदानमा सहभागी भएको रेकर्डमा रहे पनि मतपेटिका भित्र ७ सय ४८ मत भेटिएका छन् ।

यस्तो हर्कत कहाँबाट भयो ? भन्ने विषय अहिलेसम्म खुलेको छैन । हाल मत गणनाको काम स्थगन गरि छानबिनको माग अघि सारिएको छ ।

एमाले पोलिट्व्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको छ । जसमा दैलेखबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू सदस्य छन् ।

निर्वाचन मण्डल / अध्यक्ष मण्डलमाथि उठेका सवाल:

(१) अधिवेशनअन्तर्गत खुला सत्र, बन्दसत्र र नेतृत्व चयन प्रक्रिया ढिला आरम्भ र व्यवस्थापकीय तथा प्राविधिक लथालिङ्ग ।

(२) मतदाता ७ सय २१ छन् भन्ने थाह पाउँदा पाउँदै मतपत्र ७ सय ४८भन्दा पनि किन छापियो ।

(३) जति मतपत्र छापियो, ती सबैमा निर्वाचन अधिकृतले हस्ताक्षर गर्नु ।

दैलेखमा एमालेको जिल्ला अध्यक्षको लागि निवर्तमान अध्यक्ष रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा नन्दकिशोर बस्नेत सर्वसम्मत भए पनि सचिवमा रुद्रबहादुर शाही र तिलक रिजाल, उपसचिव (पुरुष) मा प्रेमबहादुर खड्का, गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, झविराज खत्री र विष्णुबहादुर शाहीले प्रतिस्पर्धा गरेका छन् । उपसचिव (महिला) मा भने कलावति न्यौपाने र लक्ष्मी कुमारी कार्की निर्वाचनमा होमिएका छन् ।