

दैलेख । नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको अध्यक्षमा पुनः रविन्द्रराज शर्मा निर्वाचित हुनुभएको छ । सातौँ जिल्ला अधिवेशनअन्तर्गत भएको मतदानमा प्रतिस्पर्धी सूर्यबहादुर शाहीभन्दा बढी मत ल्याएर प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका शर्मा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

शर्माले ४१४ मत प्राप्त गर्दा शाहीले २६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले खबर बजारलाई जनाएको छ । शर्मा यसअघि छैटौँ जिल्ला अधिवेशनबाट समेत शर्मा अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
यसैगरी जिल्ला कमिटी उपाध्यक्षमा प्रेम बुढा निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का उम्मेद्वार टोपबहादुर बिसीले ११६ मत प्राप्त गर्नुभयो भने बुढाले ४५९ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा तिलक रिजाल निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धामा रहनुभएका रुद्र शाहीले ३०२ मत ल्याउँदा रिजालले ३६५ मत प्राप्त गर्नुभयो ।
उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् । न्यौपानेले २६४ मत पाउनुभएकाे छ भने दाहालको २२१ मत आएको छ । अन्य उमेद्वारहरुमध्ये चन्द्रप्रसाद दाहालले १०७, जनकप्रसाद न्यौपानेले १९४, झविराज खत्रीले ९३, लक्ष्मिकुमारी कार्कीले १३८, प्रेमबहादुर खड्काले ९२ र विष्णु शाहीले १४८ मत प्राप्त गर्नुभएको छ ।

खबर बजार । २ चैत्र २०७८, बुधबार २१:२६