एमाले दस्तावेजः ‘एक्लै जित्न एमाले सक्षम-जनआकर्षण बढ्दो अवस्थामा’

काठमाडौं । नेकपा (एमाले) ले पाँच दलीय गठबन्धनका कारण पार्टीलाई अप्ठेरो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिए पनि गठबन्धन सामर्थ्यको प्रतीक नभएर कमजोरीको द्योतक रहेको दाबी गरेको छ ।

पार्टीको बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ ।

गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका र अब पनि विजय हासिल गरिने प्रतिवेदनमा भनिएको छ ।

निर्वाचन नेकपा एमालेको विजयको आधार सुदृढ रहेका र जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी भएको प्रतिवेदनमा लेखिएको छ ।

केन्द्रीय कमिटी बैठकमा सातवटा प्रदेशका अध्यक्षले स्थानीय चुनाव लक्षित पार्टीको तयारी तथा सम्भावित नतिजाको आँकलनसहित रिपोर्टिङ गरेका छन् ।

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारीको रिपोर्टिङपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति तीब्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरु चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाले जानकारी दिनुभएको छ ।