काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, विरोध प्रदर्शनमा कार्यकर्ता

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षालगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय निर्वाचन घोषणापत्र निर्माण समिति संयोजक तोकिसक्नुभएको छ ।

यसैबीच, नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्ष कांग्रेस केन्द्रीय समिति बैठक स्थल सानेपामा विरोध प्रदर्शनमा छ ।

गत बुधवार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।