

सुर्खेत । स्थानीय तहको चुनाव नजिकिएसँगै कर्णाली प्रदेश सभाको बैठक अहिले अनिश्चितकालका लागि स्थगित छ । बैठक अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित भए पछि प्रदेश सभा सदस्यहरु अहिले आआफ्नो जिल्ला केन्द्रीत भएका छन् ।
गएको चैत २५ गते नवौ अधिवेशनको १९ औँ बैठक बसेर अर्को सूचना जारी नहुने बेलासम्मका लागि बैठक स्थगित भएको हो । तर हालसम्म बैठकको विषयमा प्रदेश सभा सचिवालयले कुनै पनि सूचना जारी गरेको छैन् ।
अहिले प्रदेश सभा सदस्यहरु आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत छन् । समितिहरुमा कोलम नै नपुग्ने अवस्था समेत आए पछि समितिहरुका बैठकहरु पनि बस्न सकेका छैनन् । अहिले आठ वटा विधेयकहरु समितिमा छलफलका क्रममा छन् । बिजनेश हुँदाहुँदै प्रदेश सभा सदस्यहरु बैठक नै स्थगित गरेर चुनाव केन्द्रीत हुन थालेका हुन् ।
प्रदेश सभा सचिव जिवराज बुढाथोकीले निर्वाचनले गर्दा प्रदेश सभा सदस्यहरुले व्यस्त भएर नभ्याउने भएकाले स्थगित गरिएको बताउनुभयो ।
अहिले विधेयकहरु समितिमा छलफलका लागि गएकाले समितिले प्रतिवेदन प्रदेश सभा बैठकलाई दिनुपर्ने हुँदा पनि बैठकका लागि भने बिजनेश कम भएको बताउनुभयो । प्रदेश सभा सदस्यहरु व्यस्त भएकाले समितिका बैठकहरु पनि बस्न सकेका छैनन् । सभाले केही आर्थिक, अध्यादेश प्रतिस्थापन गर्ने विधेकयहरु पास गरिसकेको छ ।
नेकपा एकीकृत समाजवादीकी सचेतक देवी ओलिले अहिले विधेयकहरु समितिहरुमा रहेको र निर्वाचन पनि नजिकिएका कारण प्रदेश सभाको स्थगित गरिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका विर बहादुर शाहीले निर्वाचन नजिकिएको र अब बर्खे अधिवेशन बस्नु पर्ने भएकाले अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित गरिएको बताए ।

खबर बजार । ४ बैशाख २०७९, आईतवार ०६:५२