

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाउनुभएको छ ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नुभयो ।
महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।
उहाँले पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवद्र्धक भएको बताउदै यसले राम्रो सन्देश पनि दिएको बताइएको छ ।

खबर बजार । १० बैशाख २०७९, शनिबार १५:०४