काँग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेद्वारमाथि आक्रमण र लुटपाट

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट दैलेखको गुराँस गाउँपालिकामा अध्यक्षका उम्मेद्वार टोपबहादुर बिसीलगायतको टोलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

वडानम्बर ७ मा आयोजित सभालाई सम्बोधन गरि फिर्ता हुने क्रममा ओखरेनी नजिक काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।

एमालेका उम्मेद्वार बिसी, उहाँकी श्रीमति, छोरा, एकजना पत्रकारलगायत चढेको कर्णाली प्रदेश ०३७१ नम्बरको गाडिमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट उम्मेद्वार बिसीलगायतलाई चोटपटक लागेको छ भने धेरै अन्य जिन्सी सामान लुटपाटसमेत भएको प्रत्येक्षदर्शीले दावी गरेका छन्। काँग्रेसको कार्यकर्ताले आक्रमण गरेको पुष्टि हुने भिडियो र अडियो रेकर्डहरू प्रहरी समक्ष पेश गरिएको छ ।

उम्मेद्वारसँगै रहेका पत्रकार खगेन्द्र मल्लकाअनुसार व्यापक लछारपछार र आक्रमणसँगै क्यामेरा, घडि, सिक्री, बाला, मोबाइललगायत सामग्री लुटपाटसमेत भएको छ ।

अहिले आक्रमणमा परेका उम्मेद्वारको टोलीले लुटपाट र ज्यान मार्ने उद्योगअन्तर्गत कारबाहीको माग गर्दै प्रहरी चौकी धरमपोखरामा प्रेमबहादुर रामजाली, चक्रबहादुर थापा, जगदीश थापा, नवराज बिसी, रविन्द्र रामजाली मगर, निशान बिसी, शंकर घर्ती, हरी घर्ती, हस्तबहादुर रामजाली, शेरबहादुर डाङ्गी, नरबहादुर दर्लामी (भारतीय शेनामा कार्यरत), कमला रामजाली मगर, खगेन्द्र दर्लामीमगर र यामबहादुर रामजाली मगरविरुद्ध उजुरी दिएको छ ।