दैलेख । दैलेखको गुराँस गाउँपालिकाको राजनितिक नेतृत्वले एकलौटी, ज्याजतिपूर्ण र राजनितिक प्रतिशोध साँध्ने किसिमका कार्य गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँ कमिटी गुराँसले त्यस्ता कार्य तत्काल सच्याउन चेतावनी दिएको छ ।
एमालेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गुराँस गाउँपालिकाको राजनितिक नेतृत्वले विभिन्न गतिविधिहरु सञ्चालन गर्ने क्रममा जिम्मेवार प्रतिपक्षीको हैसियतले रचनात्मक सहयोग गर्दा गर्दै पछिल्लो चरणमा हदभन्दा बढी ज्याजतिपूर्ण क्रियाकलाप गरिरहेको भन्दै यस्तो चेतावनी दिएको हो ।
त्यस्ता किसिमका गतविधि एक हप्ताभित्र नसच्याइए कडाभन्दा कडा संघर्षका कार्यक्रम अघि बढाइने एमाले गुराँसका अध्यक्ष हिमबहादुर ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।
विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपा कुमारी बिसीसँग छलफल समेत गरिएको छ । छलफलमा एमाले गुराँसका सचिव दीपेन्द्र ओली तथा जिल्ला कमिटीका सदस्यहरु कर्ण खड्का, कर्ण बि क, कुलबीर विश्वकर्मा, चित्र केसी, बालाराम खत्री, प्रेमबहादुर खड्का, बखतबहादुर बिसी, श्याम कँडेललगायतको समेत सहभागिता थियो ।
विज्ञप्तिमा गुराँसभित्र कार्यरत कर्मचारीलाई राजनितिक आस्थाको आधारमा प्रतिशोध साँधि कामकाज तथा सेवा प्रवाहमा समेत असर पर्नेगरी अवरोध गरेको, साझेदारी कार्यक्रमको नाममा वितरित रकमको सम्झौताअनुसार कार्यान्वयन नभएको र फिर्ता गर्ने प्रक्रियासमेत शुरु नगरी नितिगत भ्रष्ट्राचार गरेको, परामर्श सेवाको नाममा मनोमानी ढङ्गले आवश्यकताभन्दा बढी राजनितिक विचारको आधारमा कर्मचारी नियुक्त गरेको दावी गरिएको छ ।
यसैगरी, राजनितिक आस्थाको आधारमा मनोमानी ढङ्गले कर्मचारी तथा शिक्षकलाई सरुवा तथा बढुवाको नाममा आतङ्क सिर्जना गरेको, कर्मचारी तथा शिक्षकलाई तथानाम गालिग्लोज गर्ने, मनोवल गिराउने र असुरक्षित वातावरण सिर्जना गरेको, गाउँसभा तथा कार्यपालिकामा समेत छलफल नगरी अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट निर्माण गरी वितरण गरेको, विनियोजित शीर्षकअनुसारको वजेट खर्च नगरी करार कर्मचारीहरु, विद्यालयका सहयोगी, बाल विकास केन्द्रका सहयोगीहरुको तलवभत्ता समयमा नदिने गरेको र बस्ति तथा वडास्तरबाट आएका जनताका विकास योजनाहरुको बेवास्ता गरी मनोमानी ढङ्गले योजनाका काम अघि बढाएकोसमेत दावी एमालेले गरेको छ ।
छलफलको क्रममा गाउँपालिका अध्यक्ष ओलीले एमालेले दावी गरेका विषयलाई गम्भीरताको साथ लिएको र भुलबस् केहि कमजोरी भएको भएर सच्याउने भन्दै आफूले गरेका राम्रो कामलाई साथ दिन अनुरोध गर्नुभएको छ ।
खबर बजार । २० पुष २०७८, मंगलवार १२:१५