सुर्खेत । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट छलफलका क्रममा अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै अनिश्चित छ ।
बैठक सञ्चालनका लागि पाँच दिनदेखि सत्ता र प्रतिपक्षबीच छलफल जारी रहेपनि सहमति जुट्न सकेको छैन । विनियोजित बजेटका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गत आइतवारदेखि प्रदेशसभाको बैठक अवरोध गरेको छ ।
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानबाट पछि नहट्दा बजेटमाथिको छलफल नै प्रभावित बनेको हो ।
यसबीचमा संसद् सञ्चालनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक सर्वदलीय बैठक आह्वान गरेपनि सरकार र प्रतिपक्ष दलबीच सहमति नभएको हो । बजेट नै संशोधन गर्नुपर्ने लगायतका एमालेका मागप्रति सरकार सहमत हुन सकेको छैन ।
एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकार आफूहरूका मागप्रति लचिलो नभएकाले गतिरोध लम्बिरहेको बताउँनुहुन्छ ।
खबर बजार । १९ असार २०७९, आईतवार १०:०८