देशभरका ६१ जिल्लामा एमालेका अधिवेशन शुरू

काठमाडौं । प्रतिकूल मौसम र तयारी नपुगेकाबाहेक देशभरका ६१ जिल्लामा नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन शुरू गरेको छ ।

जिल्ला अधिवेशनलाई केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्नुभएको छ ।

उद्घाटनको क्रममा अध्यक्ष ओलीले देशको विकास समृद्धिको लागि एमालेको विकल्प नभएको र सदृढ एमालेको लागि अधिवेशन महत्त्वपूर्ण रहेको बताउनुभयो ।

आज उद्घाटन हुन नसकेका १६ जिल्लाका लागि अधिवेशनको अर्को मिति तय हुने एमालेले जनाएको छ ।

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।