गुराँस गाउँपालिका कार्यालय तोडफोड गर्नेलाई कानून अनुसारको कारवाही हुन्छः प्रजिअ प्याकुरेल

दैलेख । करारका कर्मचारीलाई हटाउने भनेर गुराँस गाउँपालिकाको दशौं गाउँसभामा निर्णय गरिएको विरोधमा नेपाली काँग्रेस दैलेखका सचिव एवम पूर्व पालिका अध्यक्ष खेमराज वलीको नेतृत्वमा गुराँस गाउँपालिका कार्यालय तोडफोड गर्नेलाई कानून अनुसारको कारवाही गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भएको छ ।

आज गुराँस गाउँपालिकाको स्थलगत अवलोकन गर्न कार्यालयमा आएका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही, डिएसपी भुवनेश्वर शाह लगायतको टोलीसँगै पुगेका सिडिओ प्याकुरेलले सार्वजनिक सम्पतीमाथि तोडफोड गर्ने, जनप्रतिनिधिलाई बन्धक बनाउने काम उच्सृखल भएको बताउनुभयो ।

कानून विपरित कार्य गर्नेलाइ हदैसम्मको कारवाही हुन्छ । उहाँले भन्नुभयो, त्यसकालागि ज्ञानमणि नेपालको संयोजकत्वमा छानविन समिति समेत गठन गरेका छौं । उहाँहरुले प्रतिवेदन दिएपछि सोही आधारमा कानूनी कारवाही सुरु हुन्छ । आन्तरिक मामिला तथा कानून मन्त्री शाहीले समेत पालिकामा भएको आक्रमण अराजकता भएको बताउनुभयो ।

यो अराजक काम हो । यसलाई कुनै हालतमा पनि स्वीकार्य मान्न सकिदैन । उहाँले भन्नुभयो, यस्ता गैरजिम्मेवार काम गर्नेहरुलाई कानून अनुसार सजाय हुन्छ । यसमा तपाई हामी ढुक्क हाऔं । उहाँले भन्नुभयो, यो वा त्यो बहानामा कानून हातमा लिनेलाई कानून बमोजिम कारवाही हुन्छ ।
पालिका अध्यक्ष टोपबहादुर विसीले आफूहरुमाथि सांघातिक आक्रमण भएको बताउनुभयो ।