माओवादीका सांसदद्वारा कर्णाली प्रदेश सभाको बैठक बहिस्कार

सुर्खेत । माओवादीका सांसदले कर्णाली प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् । मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका हुन् ।


सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा ९माओवादी केन्द्र० का प्रदेशसभा सदस्यहरुले दशौं अधिवेशनको २६ औं बैठक बहिस्कार गरेका छन् ।

माओवादी बाट प्रदेशसभा सदस्य गोपाल शर्माले सभामुख राजबहादुर शाहीसँग समय मागेर सुरूमै सरकार एकलौटी हिडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले यस्तो अवस्थामा प्रदेशसभाका कुनै पनि काम कारबाहीमा सहभागि हुन नसक्ने बताउनुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो । तर, यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको देखियो ।’

सांसद शर्मा आफु आर्थिक मन्त्री हुँदा अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको तर, हालको सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रि गराएको भन्दै आरोप लगाउनुभयो ।

यस्तै, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको गुनासो गरेका थिए ।

शर्माले आफ्नो भनाई राखि सकेपछि माओवादीबाट सरकारमा सहभागी मन्त्री, काँग्रेसका सांसद, मन्त्री र एमालेका सांसदहरु बाह्यक अन्य माओवादीका सांसदहरू बैठकमा नबसि उडेर हिड्नु भएको थियो । त्यसपछि आधा घण्टा लागि स्थगित भएको बैठक पुन बसेको छैन् ।

कर्णालीमा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।