ओली निवासमा देउवा: के-के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको छ ।

ओलीलाई भेट्न देउवा ओली निवास बालकोट पुग्नुभएको हो । दुई नेताबीच करिब एक घण्टा भएको वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया भने मानेका छैनन् ।

निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उहाँलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।

आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट हुनुहुन्छ ।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।