नागरिकता समस्या समाधान भएसँगै माओवादीले प्रतिबद्धता पूरा गर्‍योः प्रचण्ड

‘तराई मधेशमा माओवादीलाई एक नम्बर पार्टी बनाउन पहल गर्नुहोस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट नागरिकता विधेयक पारित गरेर आफ्नो प्रतिबद्धता पुरा गरेको बताउनुभएको छ ।

सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नागरिकता विधेयक पारित भएसँगै अब ६ सात लाख जनताले नागरिकता पाउने वातावरण बनेको बताउनुभएको हो ।

प्रचण्डले भन्नुभयो, ‘मैले मधेश प्रदेशमा आएर केही महिना पहिला नागरिकता समस्या समाधान गर्ने विश्वास दिलाउनु थियो । अहिले फेरि मधेश प्रदेशमा आउँदै गर्दा सम्पूर्ण जनता र युवालाई नागरिकताको समस्या समाधान गर्ने निर्णय गरेको छौँ। म बधाई भन्न चाहन्छु तथा शुभकामना भन्न चाहन्छु। यो खुसीको कुरा हो। माओवादी केन्द्रले गरेको प्रतिबद्धता हिजोबाट पुरा गरेको छ। यो सन्देश घरघर टोल टोलमा पुर्‍याउनुहोला।’

समस्याको समाधान गर्ने पार्टी माओवादी नै भएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा समेत स्थापित गरेको बताउनुभयो । आगामी मंसिर पहिलो साता हुने निर्वाचनमा तराई मधेशमा माओवादीलाई एक नम्बर पार्टी बनाउन पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले भारत भ्रमणमा नेपाली जनताको समृद्धि र विकासको लागि छलफल भएको बताउनुभयो ।