अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएको छ । उहाँलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले गत असार २२ गते राजीनामा दिनुभएको थियो । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।