रास्कोट अस्पताल बनाएको ब्याजबापत भोट माग्न आएको हैनः रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कालिकोटमा आफूले बनाएको रास्कोट अस्पतालको ब्याजबापत भोट माग्न नआएको टिप्पणी गरेका छन् । मंगलबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले अस्पताल बनाएको छु भनेर भोट माग्न आएको हैन,’ उनले भने, ‘अब नेताहरुले गरेका हरेक गल्तीको एक–एक हिसाब खोज्ने बेला आएको छ, अब परिवर्तन गर्ने सङ्कल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ ।’
भेलामा बोल्दै उनले अब देशको नेतृत्व फेर्नुपर्ने समय आएको बताए । ‘कर्णालीका जनताहरु बिहान बेलुकीको छाक टार्नका लागि भारतमा श्रम बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘नेतृत्वमा बसेकाहरु काठमाडौंमा चयनका साथ आराम गरिरहेका छन्, अब यस्तो नेतृत्व फेर्नुपर्ने बेला आएको छ ।’
सभापति लामिछानेले आफूले टेलिभिजनको पर्दाबाट देशका विभिन्न ठाउँका समस्याहरु देखाउँदै समाधान गर्ने व्यक्तिको पर्खाइमा आजसम्म बसेको बताए । ‘आजसम्म टेलिभिजनको पर्दाबाट, चोक–चोकमा र गल्लीमा पनि पुगेर समस्याहरु देखाईयो र सुनाईयो पनि ,’ उनले भने, ‘अब सदनमै पुगेर जनताका समस्या चुनी–चुनी समाधान गर्न म आएको छु, यसमा मलाई तपाईँको साथ चाहिएको छ ।’ नागरिकको समस्या सुनिदिने र समाधान गर्ने ठाउँ नै नभएको सभापति लामिछानेले गुनासो गरे । ‘लामो समय बसेर हेरियो, नागरिकले गुनासो र समस्या सुनाउने ठाउँ छैन,’ उनले भने, ‘समस्या सुन्ने ठाउँमा ढोका लागेका छन्, ताल्चा लागेका छन्, अब हामी त्यो ढोका खोल्नेछौँ ।’
अब देशका विभिन्न ठाउँमा देखिएका फोहोर आफ्नो नेतृत्वमा सफा हुने सभापति लामिछानेले दाबी गरे । ‘अब म कसैलाई कुर्दिँन,’ उनले भने, धेरै ठाउँमा देखिएका फोहोरहरुलाई देखाउँदै गएँ तर फोहोर टिपीएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफै मैदानमा आएको छु ।’
सभापति लामिछानेले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको बताए । तर अस्पतालबाट अहिले सयौं नागरिकले उपचार पाइरहेको उनको दाबी छ । उनले रास्कोट अस्पतालबाट आठ हजार नौ सय ५६ जनाको उपचार भएको पनि जानकारी दिए । सभापति लामिछानेका अनुसार उक्त अस्पतालबाट तीन हजार आठ सय ७२ महिला, तीन हजार नौ सय दुई जना पुरुष र ११ सय ८२ बालबालिकाले सेवा लिएका छन् । उनले भोट हालिसकेपछि प्रश्न गर्ने बानीको विकास गर्न पनि कर्णालीवासीलाई आग्रह गरे । ‘अब यस्तो मतदाताको खाँचो छ जस्ले मत हालिसकेपछि कानमा तेल होईन घण्टी बजाओस् र आफ्ना नेताहरुलाई प्रश्न गरोस्, उनले भने ।’ भेलामा कर्णालीका दशवटै जिल्लाका करिब तीन हजार बढी नागरिकको सहभागिता थियो ।
प्रदेशस्तरीय भेलामा सहभागी हुन आएका नागरिकले नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् । सुर्खेतको लेकवेशी नगरपालिकाकी गोमा चालिसेले नयाँ नेतालाई देख्दा आश लागेको बताइन् । ‘सबैले राम्रो–राम्रो भन्छन्,’ उनले भनिन्, ‘उहाँको भाषण सुन्दा निकै राम्रो लाग्यो अब काम गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ, भाषण त सबैको राम्रो हुन्छ ।’
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नरबहादुर विकले जुन नेता आएपनि उस्तै भएको बताए । ‘यहाँ आएका हामी जस्ताले केही गर्न सक्दैनौँ,’ उनले भने, ‘रवि लामिछाने मात्रै सांसद बन्ने हुन् हामी जनता जहाँको त्यहीँ हो, जनताका समस्या जस्ताको त्यस्तै हुने हुन् ।’