एमालेले भारतलाई बोल्यो धावा, नेपालको सत्ता गठबन्धन मौनतामाथि प्रश्न

काठमाडौं । पछिल्लो समय नेपाली भुमिमा भारतले थप गतिविधि सञ्चालन गर्न थालेपछि नेकपा (एमाले) ले भरतमाथि धावा बोलेको छ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग एमालेले भनेको हो ।

एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,’ लेख्नुभएको हो ।

हालै भारतीय प्रधानमन्त्री मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।

एमालेले यसप्रति नेपालक‍ो हालको सत्तापक्षले देखाएको मौनताले अनेकौं प्रश्न उब्जाएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।