माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन्: भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाउनु भयो । ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुनलाई सुधार गर्छ‚’ भट्टराईले भन्नुभयो । नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईको दाबी थियो ।

आसन्न निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने बताउदै, संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस बिस्तारै पतनको बाटोमा जाने उहाँले बताउनु भयो ।

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताउनु भयो । ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भए पनि माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएको भट्टराईले बताउनु भयो ।

आसन्न निर्वाचनमा एमालेले छेउ लागेका र निम्नवर्गका लागि लक्षित गरी घोषणापत्र ल्याउने तयारी गरेको उहाँले बताउनु भयो । भदौभित्रै एमालेको घोषणापत्र आउने उहाँले बताउनु भयो ।