काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए ।
सरकारले शून्य लागतमा नै खाडीका देश र मलेसियामा श्रमिक पठाउने नीति लिएको छ । अहिले म्यानपावर कम्पनीले मलेसिया जान नै २ लाख भन्दा बढी असुल्ने गरेका छन् ।
श्रममन्त्रीसँग एक श्रमिकका परिवारले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका परिवारका सदस्यको शव ल्याउन नसकेको लगायतका गुनासो पनि पोखे ।
प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार मन्त्री कुँवरले पहिलो दिन ६ जना श्रमिकका गुनासो सुने । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने प्रतिबद्धता व्यक्त गरे ।उनले विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने आश्वासन दिए । उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयका लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने अश्वासन दिए ।
मन्त्री कुँवरले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनको भनाइ थियो । त्यो जटिलता समाधान गर्नका लागि मन्त्रालय कानुन निर्माणमा पनि लागेको उनले बताए ।अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहनुभएको छ । विदेश जाँदा बुझेर मात्रै जान भन्दै आएका छौं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबुझी जाँदा पनि समस्या आइरहेका छन्’ उनले भने ।
मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।
खबर बजार । ५ भाद्र २०७९, आईतवार १७:३०