सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनु भएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत दावी गर्नु भयो ।
उहांले भन्नु भयो, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं। यो गठबन्धन लामो समयसम्म टिक्छ ।’
एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताउनु भयो । गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अवको विकल्प नभएको पनि देउवाले बताउनु भयो । साथै उहांले गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न समेत आग्रह गर्नु भयो ।
कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नु भयो । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उहांले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको समेत बताउनु भयो । गठबन्धनलाई चुनाव जिताएमा पाँच वर्षभित्रमा रिजल्ट देखाउने दाबी समेत देउवाले गर्नु भयो ।
खबर बजार । ६ कार्तिक २०७९, आईतवार १६:४८