
सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरुबीच स्थानीय तहको भागबण्डा बारे अझै सहमती जुट्न सकेको छैन् । शुक्रवार बसेको बैठक बिना निश्कर्ष टुंगिएको हो ।
प्रमुख तीन राजनीतिक दल नेकपा माओवादी, नेपाली काँग्रेस र एकीकृत समाजवादीका आ–आफ्नै अडानका कारण सहमती जुट्न नसकेको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।
मनोनयन दर्ता गर्ने समय अब एक दिन मात्र बाँकी रहेकाले आज बस्ने बैठकले सीट बाँडफाँटको टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
प्रदेशका ७९ पालिकामध्ये गठबन्धन आवद्ध कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा दलका प्रदेशस्थित नेताहरु बिहीबारदेखि छलफलमा थिए ।
बिहिबार पनि बिना निश्कर्ष छलफल टुंगिएपछि शुक्रबार दिउँसोदेखि राति अबेरसम्म छलफल चलेको थियो । तर सहमती जुट्न सकेन । यी कुनै पनि बैठकमा गठबन्धनभित्रका दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई सहभागी गराइएको छैन ।
शनिबार बिहान पनि पुनः बैठक बस्ने अध्यक्ष केसीले जानकारी दिनुभयो । प्रदेशमा सत्तारूढ गठबन्धन भागबण्डामै अल्झिरहेका बेला नेकपा एमालेले भने अधिकांश पालिका र वडामा आफ्ना उम्मेदवार टुंगो लगाइसकेको छ ।

सृजना बुढाथोकी । १० बैशाख २०७९, शनिबार १०:०५