काठमाडौं । निर्वाचन आयोगले कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन लाग्न निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ ।
एक भिडियो सन्देशमार्फत् निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिनुभयो ।
मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ’व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न लाग्नुपर्छ। कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउनसक्छन् । सचेत हुनुहोस् ।’
मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि आग्रहसमेत उहाँले गर्नुभयो ।
खबर बजार । ३ मंसिर २०७९, शनिबार १३:५१