दोलखामा जारी मतगणना विवादका कारण स्थगित


काठमाडौं । दोलखामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो ।

अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने बताइरहेको छ ।

पछिल्लो मतगणनामा माओवादी २१०७ मतले अगाडि छ । ९ हजार ७६ मत गनिसकेपछि मतगणना रोकिएको हो ।

कालिञ्चोक १ को गणना भइरहदा मुचुल्कामा उल्लेख भएको सबै मत नभेटिएपछि विवाद भएको थियो ।

सो मतदान केन्द्र गठबन्धनले नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको भन्दै एमालेले उजुरी गरेको थियो । माओवादी नेता नरवहादुर पाख्रिनले कब्जा गरेको मतदान केन्द्रको मत गन्ने क्रममा सबै मत नभेटिएपछि विवाद भएको हो । गणना भइरहेको बेला सो वडामा गठबन्धनका उम्मेदवार गंगा कार्कीले ९२४ मत र एमालेका बालकृष्ण शिवाकोटीले २५३ मत पाउनु भएको छ ।