सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्छ : गगन थापा


२० मंसिर,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै उहांले सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने बताउनु भयो ।

उहांले भन्नु भयो, ‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शंका छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौं । गठबधनको सरकार बनेपछि नेताहरुले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन्, लुकाउँछन्, बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’

सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उहांले बताउनु भयो । गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उहांको भनाइ छ ।

उहांले पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा जोड दिनु भयो । सरकारमा बस्नेले शक्ति, स्रोत र सीमालाई ख्याल गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । अर्थतन्त्र डामाडोल अवस्थामा भएकाले निर्वाचनमा उम्मेदवारले खटे जस्तै गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्र सम्हाल्न सानो सोच र क्षमताले नहुने उहांको जिकिर थियो ।

उहांले कांग्रेसको लोकप्रिय मत घटेकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।

पार्टीभित्र कोही दाइ रिसाउँछ भनेर नभई इमानदारीपूर्वक पार्टी संगठन निर्माणमा लाग्न उहांले नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भयो । उहांले आफ्नो विचार मिलेकै कारणले १४ औं महाधिवेशनमा डा. शेखर कोइरालासँग एकै ठाउँमा उभिएको बताउनु भयो ।