काठमाडौं । श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् ।
उनी १९ वर्षदेखि नेपाली जेलमा रहेका थिए । १९ वर्षपछि उनी शुक्रबार जेलमुक्त भएका हुन् । सर्वोच्च अदालतले बुधवार उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो । बुधबारको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरू गरिएकोमा प्रक्रिया पूरा नहुँदा उनी आज जेलमुक्त भएका हुन् । सर्वोच्चले ७८ वर्षीय वृद्ध तथा मुटुको रोगी समेत रहेका शोभराजले तोकिएको २० वर्षे कैद सजायको ९५ प्रतिशत भोगिसकेको भन्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । शोभराजलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । त्यसपछि विभागले उनलाई फ्रान्स पठाउने प्रक्रिया अघि बढाउनेछ ।
कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा निको हुन नसक्ने रोग लागेको अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । उनले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर उनी छुट्न सकेका थिएनन् । शोभराजमाथि विश्वका विभिन्न स्थानमा २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग लागेको छ ।
शोभराजले हत्या गरेका अधिकांश महिला भएकाले उनलाई विकिनी किलर भन्ने गरिन्छ । नेपालमा पनि उनले एक अमेरिकी र एक क्यानेडेली महिलाको हत्या गरेका थिए । सोही आरोपमा २०६० सालमा शोभराजलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
खबर बजार । ८ पुष २०७९, शुक्रबार १३:५१