प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उहांलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाउनु भएको छ।

प्रतिनिधसभामा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।