राप्रपाले सरकार बाहिरै बसेर सरकारलाई समर्थन गर्ने


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सहभागी नहुने भएको छ । पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति गरेको हो ।

हिजो बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटघाट भएको थियो । उक्त भेटमा ओलीले लिङदेनलाई नयाँ गठबन्धन निर्माण गर्न सहयोग माग्नु भएको थियो । लिङदेनले राजनीतिक स्थिरताका निम्ति बहुमत पुर्‍याउन आफूहरुले सहयोग गर्ने बचन दिनुभएको थियो ।

स्रोतका अनुसार ओलीले सरकारमा सहभागी हुन पनि लिङदेनलाई आग्रह गर्नुभएको थियो । लिङदेन भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै बालकोटबाट बाहिरिनु भएको थियो । त्यसपश्चात उहांले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्नुभयो । छलफलमा धेरै नेताहरु प्रचण्डको नेतृत्वमा सरकारमा जान नहुने पक्षमा उभिएको स्रोतले बतायो ।

‘कसैले पनि खुलेर सरकारमा जानुपर्ने कुराको वकालत गर्नुभएन’, स्रोतले भन्यो, ‘अहिलेलाई हामी बाहिरै बसेर समर्थन गर्नेछौं । सरकारमा जाने च्याप्टर लगभग बन्द भयो ।’

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अहिले बोलाएको गठबन्धनको बैठकमा पनि राप्रपाको सहभागिता नरहने बुझिएको छ । स्रोतका अनुसार अहिलेको बैठक पावर शेयरिङमा केन्द्रित हुने भएकाले त्यसमा आफूहरुको प्रतिनिधित्व आवश्यक नरहेको अध्यक्ष लिङदेनले बताउनु भएको छ ।

स्रोतका अनुसार ओलीको पहलमा निर्माण भएको गठबन्धनलाई बहुमत पुर्‍याइदिनमात्रै राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

राप्रपामा प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसलाई समर्थन गर्नु हुँदैन भन्ने मत प्रबल थियो । तर, ओलीसँगको सम्बन्धका कारणले समर्थन गर्नुपरेको एक नेताको भनाई छ ।