

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताउनु भयो ।
दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोध्नुभएको थियो ।
धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए ।
यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो । माओवादीले त्यस निर्णयबाट पछि हट्न खोजेको संकेत मिलेको छ ।

खबर बजार । १३ माघ २०७९, शुक्रबार १६:५९