राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरू

काठमाडौं । पर्सि माघ १२ गते तय भएको राष्ट्रियसभा निर्वाचनका लागि सोमबार देखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगकाअनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन ।

यसैगरी मतदान केन्द्रको ३०० मिटर वरिपरी निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री राख्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

पौडेलका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ ।

राष्ट्रियसभाको १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

आगामी २० फागुनमा नेकपा (एमाले) का आठ, नेकपा (एस) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।