लघुवित्तहरूको समस्या समाधान गर्न गम्भीर छौं: अर्थ मन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ ।

आज बुधवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थ मन्त्री पौडेलले सरकारले लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भिररूपमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताउनुभयो । विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो विषयमा गम्भीर भएर सरोकारवालाहरूसहित बैठक बसेका छौँ, केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ ।’

अर्थ मन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरूले काम सुरु गरेको बताउनुभयो । उहाँले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।