प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि देखि हुने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि –सोमबार देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ ।

समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनु भयो । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नु हुने छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उजुरीकर्तासँग सोमबार छलफल गर्ने र सोही दिन श्रेष्ठसँग पनि छलफल गर्ने ज्येष्ठ सदस्य राणाले बताउनु भयो ।