राष्ट्रियसभाको निर्वाचनमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेका १९ सीटका लागि मतदान शुरू भएको छ । निर्वाचन आयोगकाअनुुसार अहिले विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।

सत्तारुढ ५ दलीय गठबन्धनभित्र १९ सीटमध्ये कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५-५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाएका छन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिदैछ । १९ जना निर्वाचनबाट छानिँदैछन् भने १ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

पदावधि सकिनेमध्ये नेकपा एमालेका ८, माओवादी र समाजवादीका ४-४, कांग्रेसको ३ जना सदस्य रहेका छन् ।

निर्वाचन आयोगले आज मतदान सकिएलगत्तै मतगणना हुने जनाएको छ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा विशेष ध्यान दिइएको आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताका रुपमा रहन्छन् । प्रदेशसभा सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ ।