सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रको निर्देशन

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनु भयो । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भन्नु भयो ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराउनु भएको थियो । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो ।

अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ ।