सत्ता गठबन्धनमा कुरा नमिल्दा संसद बैठक सारेको सार्‍यै

काठमाडौं । सत्ताधारी दलहरुबीच संसदका विजनेसबारे कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक निरन्तर सार्ने क्रम जारी छ । सभामुख अग्नी प्रसाद सापकोटाले संसद बैठक पटक पटक सार्ने गर्नुभएको हो ।

पुष २८ गतेबाट संसदको बैठक बिना कारण सार्दै आउनुभएको सापोटाले आजको लागि बोलाइएको बैठक पनि स्थगित गरेर फागुन २ गतेलाई सार्नुभएको छ । गठबन्धनका दलहरु बीच एमसीसी संसदमा लैजाने, नेकपा एमालेको माग सम्बोधन गर्ने लगायतका विषयमा कुरा नमिल्दा संसद बैठक रोकिएको हो ।

आजको लागि बोलाइएको बैठक सरकारको आग्रहमा सारिएको संसद सचिवालय स्रोतले जनाएको छ । अघिल्लो पटक सत्ता गठबन्धनसँग सल्लाह नगरी बैठक सारेको भनेर सापकोटाको व्यापक आलोचना भएको थियो ।

संसद सचिवालयका महासचिव भरत गौतमले विशेष कारण देखाएर बैठक सारिएको सुचना टाँस्नु भएको छ । माधव नेपाल लगायत १४ जना साँसदलाई एमालेले गरेको कारबाही कार्यन्वयन नगरेको भन्दै सभामुखको भूमिकामा प्रश्न उठाएर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कहिले सभामुखले कहिले सरकारले मनलाग्दी बैठक सारेर दोष चाँही निर्लज्जपूर्ण रुपमा एमालेले दिने गरेको बताउनुभएको छ ।