

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिनुभएको छ ।
अध्यक्ष ओलीले राष्ट्र र जनताको हित विपरित चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने बताउनुभयो ।
सुखानीका सहीदहरुको स्मृतिमा आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताउनुभयो ।
राष्ट्रको स्वाधिनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्विकार्य नहुने उहाँको भनाई थियो । सत्ता समर्थक दलहरुले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताउनुभयो ।
उहाँले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने, यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने बताउनुभयो । हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेको उल्लेख गर्दै ओलीले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताउनुभयो ।
उहाँले न्याय र समानताको आधारमा सबै राष्ट्रहरुसँग बराबरीको सम्बन्ध आफूहरुले राख्न चाहेको पनि पटकपटक दोहोर्याउनुभयो ।
ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी समेत गर्नुभयो । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरुकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले आफूहरुले वास्तविक सहीदहरुको मात्रै सम्मान गर्ने पनि बताउनुभयो ।

खबर बजार । २१ फाल्गुन २०७९, आईतवार १८:१७