सुर्खेत। महिला नेताहरुको प्रत्यक्ष चुनावमा लड्ने क्षमता हुँदाहुँदै पनि आफूहरुलाई समानुपातिकमा थन्क्याएको गुनासो गरेका छन् । आफूहरुको क्षमता र आर्थिक अवस्था कमजोर देखाएर सधैँ चुनावको समयमा समानुपातिकमै चित्त बुझाउनुपर्ने बाध्यता हुने गरेको महिला नेताहरुले गुनासो गरेका छन् ।
आवाज संस्था र अन्तरपर पार्टी निर्भर समाज सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता सम्बन्धमा महिला नेताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सुर्खेतकी कांग्रेस नेता शान्ती सिंहले आफू प्रत्यक्षमा चुनाव लड्ने भनेपनि फेरि समानुपातिकमै नाम सिफारिस गरेको बताइन् । हामीसँग क्षमता पनि छ, उनले भनिन्, तर हरेक पटक हामीलाई समानुपातिकमै फालिन्छ, जहिले हामीले आफूभन्दा अग्रज भन्दै पछाडि पर्नुपर्ने अवस्था छ । नेता सिंहले विधानमा लेखिएको कुरा व्यवहारमा कार्यान्वयन नभएको टिप्पणी गरिन् । टिकट लिँदा र चुनाव लड्दा पैसा दिनुपर्ने प्रवृत्तिले धेरै महिला नेतालाई समस्या परेको उनको भनाइ छ । महिलाको आर्थिक अवस्था कमजोर हुन्छ, उनले भनिन्, पैसा नभएकै कारण हामी प्रत्यक्ष चुनाव लड्न सक्दैनौँ ।
आवाज संस्थाका निशा पौडेलले महिलालाई पार्टीको मुख्य पदमा किन राख्न नसकिएको भन्दै प्रश्न गरिन् । धेरै महिलालाई मुख्य पद दिइँदैन, उनले भनिन्, महिलालाई अगाडि ल्याउन के चुनौती छ ?
नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले आफ्नो पार्टीको विधानमा पार्टीको पदाधिकारीमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको स्पष्ट पारे । महिलालाई निर्वाचनमा समानुपातिक र प्रत्यक्ष दुबैबाट सिफारिस गरिएको छ, उनले भने, हाम्रो पार्टीले देवी ओलीलाई प्रत्यक्षबाट उठाएको छ, महिलाको क्षमता नभएको भनेर भन्दा पनि महिला आफैले ईच्छा राखेमा पार्टीले स्थान दिएको छ ।
नेकपा एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले पनि महिलालाई आफ्नो पार्टीले स्थान दिएको उल्लेख गरे । उनले महिलालाई हालसम्म विभिन्न प्रमुख पदमा अटाउन सफल भएको बताए ।
कार्यक्रममा सहभागीले कर्णाली प्रदेश सभाका सांसद राजु नेपालीले संघर्ष नगरी नेतृत्व तहमा पुग्न नसकिने बताइन् । उनले आफू लामो संघर्षपछि मात्रै यहाँ पुगेको भन्दै आँट गरेपछि मुख्य पदमा पुग्न सकिने उल्लेख गरिन् ।
यस्तै, सांसद मिनासिंह रखालले महिलालाई प्रत्यक्षमा चुनाव उठाउन सिफारिस गर्दा पनि समानुपातिकमा थन्क्याइएको बताइन् । राजनीतिमा लामो संघर्षपछि मात्रै महिला अगाडि बढ्न सक्ने उनको भनाइ छ ।
आगामी मंशीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा आवाज संस्थाका कार्यकारी निर्देशक पबित्रा शाहीले महिलालाई प्रत्यक्षमा उठाउन पार्टीले जोड दिनुपर्ने बताइन् । उनले महिलालाई आर्थिक रुपले कमजोर भन्दै पछाडि पारिएको पनि गुनासो गरिन् । महिला आफैले पनि प्रत्यक्षमा चुनाव लड्न सक्षमता देखाउनुपर्ने निर्देशक शाहीको भनाइ छ ।
"
सृजना बुढाथोकी । २९ भाद्र २०७९, बुधबार ०९:५८