नेपालले दियो पपुव न्युगिनीलाई २ सय ९८ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ शेखको शतकको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग अर्धसतकिय साझेदारी गरेका थिए ।जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।