
काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई बाध्य पार्नगरी आन्दोलन गर्ने तयारी गरेको छ ।
आफूहरुको गठबन्धन पराजित हुने डरले निर्वाचन नगराउने गरी षड्यन्त्रमा सरकार लागिरहेको भन्दै सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिने तयारी एमालेले गरेको हो ।
एमालेले जनसंगठनहरुलाई परिचालन गरी आन्दोलनलाई सशक्त ढङ्गले अघि बढाउने भन्दै आज जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ । जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनको पक्षमा माहोल बनाउन आन्दोलनका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई बाध्य पार्नगरी आन्दोलन गर्न भातृ संगठनहरुका विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
पार्टीका केही नेता र जनसंगठनका विभागीय प्रमुखहरुलाई बोलाएर ओलीले यस्तो निर्देशन दिनुभएको स्रोतले बताएको हो । निर्वाचन नगर्ने विषय संविधान मिच्ने र देशलाई अस्थिरताको दिशातर्फ लैजाने षडयन्त्र रहेकोले निकै संवेदनशील भएर यसलाई लिन उहाँले आग्रह गर्नुभयो ।
एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्र इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँग अध्यक्ष ओलीले छलफल गर्नुभएको छ ।

खबर बजार । १५ माघ २०७८, शनिबार ०६:०१