मिटरब्याजलाई अपराधको मान्ने गरि कानुन संशोधन गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो ।

सरकारले अब यो कानुन संशोधन गरेर राजपत्रमा प्रकाशित भएसँगै मिटरब्याजमा संलग्नहरू अपराधको कसुरमा कानुनी कारबाहीमा आउने जनाएको छ । यसअघि मिटरब्याजमा ऋण दिनेहरूलाई कारबाहीका लागि खास कानुन नहुँदा समस्या भएको थियो । अब भने मिटर ब्याज पीडितले न्याय पाउने र मिटरब्याजीहरू दण्ड र जरिबानाको दायरामा आउने सरकारको भनाइ छ ।

आजै गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आन्दोलनरत मिटरब्याजी पीडितसँग भेटघाट गरी समस्या समाधानको विषयमा छलफल गरेको छ । भेटमा मिटरब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पार्नुभएको छ । पीडितले भने प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेका छन् ।

मिटरब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाण्डौ आएका हुन् । सरकारले उनीहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ ।