सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिनुहुनेभएको छ ।
मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाउनु भएको छ ।
‘नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मैले मलाई प्रदेश सभामा विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकोले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गर्दछु’ मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।
प्रदेश सभा प्रमुख सचिव जिवराज बुढाथोकीले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिनु भयो ।
‘मुख्यमन्त्रीज्यूले १७ गते विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गरिदिन सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभा सचिव बुढाथोकीले भन्नुभयो, ‘उहाँको पत्र आएपछि शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिनेगरी व्यवस्था गरिएको छ ।’
मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुन: विश्वासको मत लिग्नु भएको हो ।
गत पुस २७ गते नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
माघ ६ गते विश्वसको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक जना सांसद छन् ।
खबर बजार । १५ चैत्र २०७९, बुधबार १७:३०