सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने

काठमाडौं । सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।

‘काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।’ सरकारको प्रवक्ता संचार मन्त्री रेखा शर्माले बताउनु भयो ।

महानगरले तीन दिनदेखि सिंहदरबार, शीतल निवास, बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएको छ । केन्द्र सरकारले आफूलाई आवश्यक समन्वय नगरेको भन्दै महानगर प्रमुख बालेन साहले फोहोर संकलनमा रोक लगाउनु भएको हो ।

बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषदको पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।