

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । उहाँले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्नु भएको हो ।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य, रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नु भएको छ ।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुभएको छ भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बन्नुभएको छ ।
बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।
त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । आइतबार मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद १२ सदस्यीय भएको छ ।

खबर बजार । ७ जेष्ठ २०८०, आईतवार १४:५१