सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

बुधवार आकस्मिकरूपमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विसं २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका सबै खाले आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । दोस्रो निर्णयको रूपमा दिवङ्गत दाहालको राजकीय सम्मानस्वरूप अन्त्येष्टि गर्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना पनि प्रकट गरेको छ । उहाँ ६९ वर्षको हुनुहुन्थ्यो । सीता दाहालको उपचारका क्रममा आज बिहान निधन भएको थियो ।